नर्सि‌‍ङ्गका लागि बेलायत नै किन?

Blog Single

उच्च शिक्षा हासिल गर्नका लागि विश्वको एक उत्कृष्ट गन्तव्य रहेको बेलायतमा अन्तर्राष्ट्रिय नर्सिङ्ग विषयको अध्ययन र रोजगारीका धेरै अवसरहरु रहेका छन् | सीपमूलक शिक्षा पद्धति, विश्व मान्यताप्राप्त डिग्री र संसारको जुनसुकै कुनामा सजिलै रोजगारी पाइने भएकाले नर्सिङ्ग विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुको हकमा बेलायत एक उत्कृष्ट रोजाई हो | नर्सिङ्ग टाइम्सका अनुसार बेलायतमा नर्सिङ्ग शिक्षाका लागि विश्वकै सर्वोत्तम विश्वविद्यालय जस्तै एडिनबरा विश्वविद्यालय, लिभरपुल विश्वविद्यालय, बर्मिन्घम विश्वविद्यालय आदि विश्वविद्यालयहरु रहेका छन् र करीब ११४ शैक्षिक संस्थाहरुले नर्सिङ्ग विषय सम्बन्धी शिक्षा तथा तालिमहरु दिदै आएका छन् |

बेलायतमा स्नातक तहमा नर्सिङ्ग विषय साधारणतया ४ वर्षको हुन्छ, जसमा ४ मुख्य विधा: अडल्ट, चिल्ड्रेन, लर्निङ्ग डिस्एविलिटी र मेन्टल हेल्थ मध्ये कुनै एकमा विशेषज्ञता हासिल गरी आफ्नो भविष्यको वृत्ति (करियर) विकास गर्न सकिन्छ | स्नातकतहपछि यहाँ स्नातकोत्तर शिक्षा अथवा रोजगारीका अवसरहरु पनि प्रचुर मात्रामा अन्तर्राष्ट्रिय विद्यार्थीले पाउन सक्छन् | वार्षिक ट्युसन फी £ १३,५०० बाट सुरु हुने यस विषयमा अध्ययन साथै तालिमका लागि थुप्रै छात्रवृत्तिको व्यवस्था छ | त्यसैगरी स्टाफ नर्स अथवा पी.सी.एल नर्सिङ्ग गरेका विद्यार्थीले २ वर्षे टप अप डिग्री गरी रजिस्टर्ड नर्सको रुपमा काम गर्न सक्छन् | बेलायतमा रजिस्टर्ड नर्स हुनका लागि नर्सिङ्ग एण्ड मिड्वाइफरी काउन्सिल (एन. एम. सी.) मा दर्ता भएको हुनु पर्दछ, जसका लागि सोही अनुसारको शैक्षिक र अंग्रेजी योग्यता प्राप्त गर्नुपर्दछ |

प्राप्त तथ्यांक अनुसार बेलायतमा ९४% नर्सहरुले अध्ययन सकेको ६ महिनामा नै रोजगारी पाउने गरेका छन् | त्यसैले यो रोजगारीमूलक विषय पनि हो | अहिले बेलायतको स्वास्थ्य क्षेत्रमा नर्सहरुको अभाव निकै रहेको छ | बेलायतको सबैभन्दा ठूलो नर्सिङ्ग रोजगारदाता नेशनल हेल्थ सर्भिस (एन. एच. एस.) का अनुसार यसमा ४४,००० नर्स पदहरु रिक्त रहेका छन् | हालसालै भएको ब्रेक्जिट र जनशक्ति अभावले नर्सिङ्ग पढ्ने र काम गर्न चाहनेका लागि यो सुनौलो अवसर हो | कार्य क्षेत्रमा धेरै लचकता रहेको यो पेसामा रजिस्टर्ड नर्स भईसकेपछि सरकारी अथवा निजी क्षेत्रमा कार्यरत हुन पाइन्छ | बेलायतमा नर्सहरुको औसत सुरुवाती बार्षिक तलब £२२,००० देखि £ २८,००० सम्म हुन्छ | आम्दानीसंगै मर्यादित रहेको यो पेसामा धेरै भत्ता र अन्य सुबिधा सेवाहरु पनि छन् |

 

स्वास्थ्यसेवाको ५०% सम्हालेको नर्सिङ्ग पेशा एक आकर्षक कार्यक्षेत्र हो | विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले विश्वमा ४३.५ मिलियन स्वास्थ्यकर्मी मध्ये २०.७ मिलियन नर्स तथा मिड्वाइफहरु रहेका छन् | विश्वभरिनै हालको अवस्थामा स्वास्थ्यकर्मी तथा नर्सहरुको भूमिका अत्यन्त महत्वपूर्ण छ | कोरोना महामारी जस्तो भीष्म परिस्थिमा यस क्षेत्रमा कार्यरत जनशक्तिको लगनशीलता र साहस उल्लेखनीय छ | तसर्थ बढ्दो जनसंख्या तथा सोहिअनुरुपको स्वास्थ्य क्षेत्रको अभावले नर्सहरु अबको दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अति माग भएका जनशक्ति हुन् | पेशागतरुपमा रोजगारी र सुरक्षासंगै भत्ता र सुविधा पाइने यस क्षेत्रप्रति यस्तै कारणहरुले धेरै विद्यार्थीहरुको आकर्षण रहेको पाइन्छ | नेपालमा पनि नर्सिङ्गको माग उतिकै छ भने वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीमा यस विषयतर्फको झुकाव बढ्दो छ |

बेलायतमा ब्रेक्जिटपछि ब्रिटिस सरकारले सन् २०२१ जनवरी १ देखि ‘प्वाइन्ट बेस्ड सिस्टम’ लागू गर्न लागेको छ जसअनुसार आउँदो वर्षदेखि युरोपियन युनियन र गैरईयू नागरिकका लागि समान अध्यागमन नियम लागू हुनेछ । अहिलेको व्यवस्थाअनुसार यूरोपेली नागरिकलाई बेलायतमा आउन र काम गर्न प्रवेशाज्ञा लिनुपर्दैन। तर गैरयूरोपेली मुलुकका नागरिकहरूका लागि अंग्रेजी भाषा सीप, रोजगारदाता कम्पनीको पत्र, तलबको न्यूनतम आधार लगायतका विभिन्न मापदण्ड पूरा गर्नुपर्ने बाध्यता छ । यो वर्षको अन्त्यमा स्वतन्त्र आवागमनको सम्झौता पूरा भएपछि भने यूरोपेली नागरिक पनि गैरयूरोपेलीजस्तै उनीहरूको सीप, क्षमताका आधारमा प्रवेशाज्ञा लिएर मात्र बेलायतमा आउन र काम गर्न पाउनेछन् | यूरोपेली विद्यार्थीहरुले पनि घरेलु विद्यार्थी जस्तै सुबिधा तथा ट्युसन फीमा सहुलियता नपाउने अनि अन्तर्राष्ट्रिय विद्यार्थी जस्तै ट्युसन तिर्नु पर्ने व्यवस्था हुनेछ |

बेलायतले क्षमतामा आधारित अध्यागमन नीति लागू गर्दा सबै गैरयूरोपेली मुलुकजस्तै नेपालबाट आवेदन गर्नेहरू लाभान्वित हुने विज्ञहरुको भनाई छ | नयाँ अध्यागमन नियमअनुसार आउँदो वर्ष २०२१ को ग्रीष्मयामदेखि यूकेमा डिग्री उत्तीर्ण गर्नेले दुई वर्षसम्म र पीएचडी ग्य्राजुएट भए ३ वर्षसम्म काम गर्न पाउने गरी ‘पोस्ट स्टडी वर्क स्किम’ ल्याउने घोषणा पनि सरकारले गरेको छ । अहिले बेलायतमा ब्याचलर्स, मास्टर्स वा पिएचडी गरेपछि विद्यार्थीहरुलाई चार महिनामात्र काम गर्न छुट छ ।

तसर्थ, आफ्नो अर्थतन्त्रमा योगदान गर्न सक्ने उच्च दक्ष जनशक्ति (हाइली स्किल्ड) योजना ल्याउने तयारी गरिरहेको बेलायत सरकारको यस नीतिले नर्सिङ्ग जस्तै दक्ष जनशक्तिलाई सहज हुने भएको छ । त्यसैले अध्ययनपछि पाइने पोस्ट स्टडी वोर्क भिसा, न्यूनतम कागजात आवश्यकता, हालैको ब्रेक्जिट, क्षमतामा आधारित अध्यागमन नीति र जनशक्ति अभावका कारण बेलायत नर्सिङ्ग पढ्न र रोजगार पाउनको लागि उत्कृस्ट गन्तव्य बन्ने देखिन्छ |

Leave a Comment/Enquiry